जेठ २५ गते शनिबार प्रेम भण्डारी (प्रेम सरको) निधन भएको खबरले स्तब्ध बनायो । मेरी आमाले फोन मार्फत यो खबर सुनाउनुभयो । प्रेम सर मलाई क, ख सिकाउने गुरुमात्र नभएर मेरो बचपनका नायक थिए । एउटा गाउँमा आवतजावत भइरहने व्यक्ति त यसै छँदै थिए । उनको मृत्युले मेरो मनमा जति आघात पुरायो म महसुस गर्न सक्छु उनको परिवारमा यो आघात कुन हदसम्म परेको होला भनेर ।
धादिङ कल्लेरी गाविस वडा नं. ९ जसलाई मूलाबारी भनेर चिनिन्छ, त्यही छ श्री धादिङ निमावि । मैले यही स्कुलबाट कक्षा आठ उत्तीर्ण गरेँ र अर्को स्कुल गएँ । आठ÷दस वर्षको साइनो छ यो स्कुलसँग मेरो । त्यही स्कुलका हेडमास्टर थिए प्रेम भण्डारी (प्रेम सर) । १-२ कक्षासम्म म मूलावारी हरेटारबाट स्कुल जाने गर्थेँ पछि बेसी झरियो तब प्रेम भण्डारी सर गाउँमै बस्थे । पछि उहाँहरु पनि (सेरा) बेसी झरेपछि मेरो घरकै बाटो स्कुल जाने÷आउने गर्न थाले उनी, अनि म पनि त्यही बाटो । म खाना खाएर स्कुल जाने तरखरमा लागिरहँदा प्रेम सर मेरो घर आइपुगिसकेका हुन्थे उनी विद्यार्थीसँग प्रायः कमै हिँड्थे किनकि सबै विद्यार्थी उनीसँग डराउँथे, मजस्तै ।उनी गाउँमा जन्मे÷हुर्केको र गाउँकै स्कुलमा मास्टरी गर्ने भए पनि गाउँलेजस्तै देखिँदैन थिए । लवाइ आदिका कारण पहिलोपटक भेट्नेले सहरिया नै भन्थ्यो उनलाई । उनी हरेक दिन कपडा बदल्थे, त्यसमा पनि राम्रा र महँगा लाग्ने कपडा लगाउँथे । जुत्ता त्यस्तै ठूलो र सफा अनि हामीले गाउँमा देख्दै नदेखेको लगाउँथे । घाँटीमा सुनको सिक्री लगाउँथे, कपाल अलि लामो र चिल्लो थियो । यिनी सधैँ अत्तर छर्केर हिँडथे । बाटोमा प्रेम सर अगाडि गइसक्दा पछाडि अत्तरको बासना छोडिएको हुन्थ्यो । अझ भनौँ बाटो पूरै बास्ना आउँथ्यो ।
२०५० सालभन्दा पहिले कुरा हो । जब पृथ्वी राजमार्गमा बिजुली थिएन, हाम्रो गाउँमा हुने त कुरै भएन । धादिङ सदरमुकाममा समेत मधुरो बल्ने बिजुली छ भन्थे । हामी गोठालो जाँदा डाँडा तिरबाट रोड देखियो भने आउने जाने गाडी गनेर बस्थ्यौँ । गाउँमा विकास पुगेकै थिएन, किसानहरु तरकारी पनि राम्रोसँग फलाउँदैनथे, दूध भने आदमघाटमा अलिअलि बिक्थ्यो । मेरो आफ्नै कुरा गर्ने हो भने मलाई पाउरोटी र चिया खान पाउँदा स्वर्गै पुगेसरह हुन्थ्यो । त्यो ग्रामीण परिवेशमा ६ फुट अग्ला प्रेमसर सबै गाउँलेका नायक थिए र मेरा पनि । उनलाई सबैले चासो दिएर हेर्थे, किनकि ग्रामीण भेगमा सबै मैलाकपडा लगाउँथे, खुट्टा फुटेको हुन्थ्यो सबैको, यिनी सुकिला हुन्थे, चिल्ला पैताला थियो यिनको । हरेक व्यक्ति कोही न कोहीबाट प्रभावित हुन्छ म प्रेम सरबाट प्रभावित थिएँ, उनी मेरा नायक थिए ।
आजका बच्चाहरु टिभी हेर्छन् । उनीहरुले राजेश हमाल देख्छन् र आफ्नो मनमा उसैलाई ठूलो नायक या त्यस्तै कुनै दबंग किसिमको मान्छेबाट प्रभावित हुन्छन् । हामी बच्चा छँदा प्रेम सरलाई खेख्यौँ प्रेम सरजस्तै हुने इच्छा जाग्यो, हामीले प्रेम सरलाई नै आइडल ठान्यौँ । म ६, ७ क्लास पढ्दा स्कुलमा वा गाउँघरमा प्रेम सरका विभिन्न किस्सा सुन्ने र सुनाउने गथ्र्यौँ । ती किस्साहरु यस्ता हुन्थे । प्रेम सर स्कुल पढ्दा स्कुलमा सबैभन्दा हेन्डसम थे रे । प्रेम सरले खेलकुदमा भाग लिए भने सबै केटी उनकै सपोर्ट गर्थे रे । जिल्लामा त्यतिवेला हुने वीरेन्द्र शिल्ड खेलकुदका नायक हुन्थे रे उनी । ज्याविन थ्रो भन्ने लामो भाला फ्याँक्नेमा माहिर थिए रे उनी । एक तरिकाले भन्ने हो भने हामी त्यतिखेरका दिनहरु आफ्ना नायक प्रेम सरको कुरा गरेर दिन बिताउँथ्यौँ ।
स्कुल पढ्दाको सम्झना.....
मूलाबारीमा कक्षा ८ सम्म पढाउने स्कुलका लागि त्यहाँ स्थानीयहरुले ठूलो योगदान गरे । त्यही योगदानको फल भनौँ म त्यो स्कुल पढुन्जेल ठूलो चहलपहल थियो त्यो गाउँमा सायद आज पनि होला । खेलकुदमा विशेष गरी भलिबल खेलिन्थ्यो । मलाई सम्झना भएसम्म मैले मूलाबारीमा भलिबल, भुत्याहाको दहमा पौडी र कक फाइटबाहेक केही खेलिन हुँला । सानो कक्षामा छँदा भलिबल खेल्ने कुरै भएन सात र आठ पढ्दा खेलिन्थ्यो । भलिबल एक बजेको खाजा समयमा बढी खेलिन्थ्यो । भलिबल म्याचमा पनि नायक नै थिए प्रेम सर । उनी विशेष गरी सट हान्ने ठाउँमा बस्थे, अग्लो भएकाले खासै उफ्रिँदैनथे उनी सट हान्दा । अरुले भन्थे– प्रेम सरले लोपर्छन् । प्रेम सर भलिबल खेल्दा आफ्नो उभिने ठाउँमा घेरा बनाउँथे र भन्थे यो भित्र न आउनु । यसको मतलब थियो यदि कोही घेराभित्र गयो र प्रेमसरको जुत्ताले टेकियो भने उसको खुट्टो रहँदैनथियो । यसबाट पनि प्रस्ट हुन्छ, उनी कति हाइटका थिए र कस्ता थिए भनेर ।
मलाई आज लाग्छ कि म सात कक्षामा पढ्दाताका प्रेम सर त्यो एरियाका प्रख्यात व्यक्ति थिए, हरेक बच्चाको नायक मेरोजस्तै । प्रेमसर यो ठाउँमा त्यति प्रख्यात हुनुमा उनका बुबा बखतबहादुर भण्डारीको पनि ठूलो हात छ । बखतबहादुर भण्डारी एक असल व्यक्ति र समाजप्रति सदा सकारात्मक रहने र हरपल समाजसेवामा लागिरहने व्यक्ति हुन् । पहिलेदेखि नै बुबाको नामले पनि समाजले अलि महत्व दिने प्रेम सर स्कुलमा हेड मास्टर बनाइँदा सायद बखतबहादुर भण्डारीको छाती गर्वले फुलेको थियो होला । समय क्रममा प्रेम सरले एउटै गाउँकी मैया श्रेष्ठसँग अन्तरजातीय प्रेम विवाह गरे । स्कुलनजिकै मैया दिदीको घरमा उतिखेर ठूलै चहलपहल हुन्थ्यो । गाउँमै एकमात्र कपडा पसल थियो । आउने–जानेहरु प्रशस्तै हुन्थे, तीमध्ये प्रेमसर विशेष भइदिए र उक्त पसल घरकी जेठी छोरी मैयासँग विवाह गरे । प्रेम सरले विवाह गर्दा म गाउँकै स्कुलमा पढ्थेँ कति सालमा हो याद भएन । गाउँमा त्यो अन्तरजातीय विवाहले ठूलै तरंग ल्यायो, गाउँलेहरुले भने प्रेम बाबुले पनि खै के गरे ? अन्तरजातीय विवाह गरेर पनि प्रेम सरको घरमा त्यति समस्या देखिएन किनकि उनको परिवार समझदार र समयसँग साथसाथ हिँड्न सक्ने खुबी राख्थ्यो, त्यसैले होला सायद ।
म आठ कक्षातिर पढ्ने वेला अलिअलि याद आउँछ । प्रेम सर कहिलेकाहीँ रक्सी पिएर घर आउँथे, यो कहिलेकाहीँ देख्न पाइन्थ्यो । एउटा स्कुलको हेड मास्टर साथीभाइले यसो रमाइलो गरौँ भन्दा पछि नपर्नुलाई गलत रुपमा लिनु त भएन । विस्तार म पनि स्कुलका कक्षाहरु उक्लँदै गएँ, आठ कक्षा पास गरेपछि आदमटार पढ्न गइयो, तैपनि प्रेम सर मेरै घरको बाटो आउने जाने गर्थे, दिनदिनै भेट हुन्थ्यो ।प्रेम सर कहिलेकाहीँ राति घर फर्कन्थे गाउँबाट अधेँरी रात हुँदा मेरै घरमा आएर खोयामा मट्टितेल हाल्न लगाउँथे र त्यही बालेर खोला तरेर घर जान्थे । यही क्रममा कहिलेकाहीँ म आफैले मेवाको डाँटमा मट्टितेल हालेर बत्ती बनाइदिने गर्थेँ । प्रेम सर यसलाई आफ्नै भाषामा म्याटलाइट भनेर जिस्किन्थे । अर्को दिन फेरि अँध्यारोमा आउँदा ओए... म्याटलाइट बनान् भन्थे । म बनाइदिन्थेँ । समयक्रममा पेम सर विस्तारै अलि बढी पिउने भए, गाउँमा फेरि उनकै चर्चा चल्यो, प्रेम बाबुले यो गरे ?
प्रेम सरले फड्को मारेनन्, किन ?
शिक्षक र विद्यार्थीको नाता मात्र नभएर प्रेम सरले मलाई सधैँ कुनै न कुनै हिसाबले विशेष सोच्थे । मलाई केही गर्ने हौसला दिन्थे, मप्रति मात्र नभएर मेरो परिवारप्रति पनि उनले सधैँ सहयोग र समर्थन गरे । मैले स्कुलमा थोरै केही गल्ती गरे पनि घरमा मेरो आमालाई भनिदिन्थे उनी । पछिल्लोपटक लीलालाई सेराको स्कुलमा टिचर राख्न कयौँपल्ट घरमै आएर कुरा गरे यिनले । सकारात्मक थिए उनी सबैका लागि मेरा लागि मात्र होइन । तर यति सकारात्मक सोचका धनी समय भएका बेलैमा एसएलसी पास गरेका भलाद्मी परिवारमा जन्मेका यिनले प्रगति त्यति गर्न नसक्नुको कारण के ?
प्रेम सरले जब एसएलसी पास गरे ग्रामीण भेगमा त्यो वेला एसएलसी ठूलो थियो । गाउँमै बुबाको राम्रो नाम थियो । त्यतिखेर पढ्ने मान्छेले प्रायः मास्टरी गर्थे, त्यही नै सबैभन्दा राम्रो र भलादमि पेसा थियो । अनपढ गाउँमा मास्टर हुनु सानो कुरा थिएन । गाउँलेले प्रेम बाबुलाई आफ्नै गाउँको स्कुलमा मास्टर बनाए र सोचे अब गाउँका बच्चाले पढ्नेछन् ।हो, गाउँका बच्चाले सके जति पढे, त्यो श्रेय प्रेम सरलाई नै जान्छ । हो मलाई लाग्छ, यही मास्टरी जागिरले प्रेम सरको खुट्टा समाइदियो । प्रेम सरका पाइला गाउँको गाउँमै छोटाछोटा फड्कामा चाले, उनले गाउँबाट बाहिर लामो पाइला चाल्न पाएनन् । ऊबेला काठमाडौँ बिरानो थियो, टाढा थियो, हाम्रा गाउँका मानिसका लागि । चिनजानेका कोही थिएनन् यता । प्रेम सरको पाइला गाउँमै खुम्चियो । पढाउन थाले, जागिर भइगयो, पैसा आइहाल्यो । त्यहाँ अरु गर्नु नै के थियो र ? वास्तवमा गर्नु धेरै थियो । उनी गाउँबाट कमसेकम सहर पसेका भए त्यो शरीर त्यो रुपले केही न केही गरेरै छाड्थ्यो सायद आज दुई–चार लाख नेपालीले चिन्थे उनलाई । कुनै न कुनै रुपमा तर त्यो भएन, उनी मूलाबारीमै गुम्सिएर बाँचे । मूलाबारीले यिनलाई विस्तारै आफै जस्तै बनायो । आफैसँग हिँड्न सिकायो र आज तेही मूलावारी र तेही मास्टरीले खायो प्रेम सरलाई ।
हुनतः यो दोष उनमा पनि जान्छ । आफुले आफुलाई चिनेनन् होला । धेरैले चिन्थे होला, थोरैले चिने जतिले चिने राम्ररी चिने, पछिल्लो समय जे–जस्तो परिस्थितिमा गुज्रे पनि हामीले उनलाई र उनको त्यो धारणालाई नकारात्मक रुपमा लिनु कदाचित राम्रो होइन, किनकि उनी जस्तो वातावरणमा घुलमिल भए यसको अन्तिम परिणाम यही हो । कम उमेरमा नै भगवान्का प्यारा भए उनी, उनको आत्माले चिरशान्ति पाओस् (अलबिदा प्रेम सर) ।
बिर्सने छैन.....
बिर्सने छैन मैले तपाईंको त्यो बुट्टे सट, कालो जुत्ता र बुलबुले कपाल । बिर्सने छैन मैले स्कुलमा सिँगान पुछिदिएको र कटुको इजार बाँधिदिएको । बिर्सने छैन मैले हात समातेर क,ख लेखाएको । बिर्सने छैन, भलिबल खेलेको । बिर्सने छैन, तपाईंसँग ट्युसन पढेको । बिर्सने छैन, मैले मेरो नायकलाई । मैले मात्र होइन तपाईंलाई बिर्सने छैन पहरेपानीले, सारघारीले ,एकल डाँडा अनि काली थानले । सुनेको थिएँ तपाईंहरुले नै लगाएको रे काली यानमा समी, बिर्सने छैन त्यसले । बिर्सने छैनन्, ती सबैले जसलाई तपाईंले मलाई जस्तै माया दिनुभो र पढाउनुभो पखेँटा हालिदिनुभो, जिवनको । बिर्सने छैन, त्यो स्कुलले तपाईंलाई । बिर्सने छैनन् सारा सहयात्रीहरुले, डाँडाकाँडाले, वनपाखाले, छरछिमेकले, नातागोताले । ती बाटोहरुले खोजिरहनेछन् तपाईंका पाइलाहरु । सुनेको थिएँ, भगवान्को घरमा पनि राम्राहरु चाँडै जान्छन् रे, सायद त्यस्तै भयो । सम्झने छौँ सदासदा बिर्सने छैनौँ ।...इति....

Suruwati lekh ramro chha....
ReplyDeleteMama ko barema yesari padhna pauda dherai khusi lagyo.mero mama real hero hunuhudo rahecha.thank you
ReplyDeleteMiss u our Real Hero
ReplyDelete