Monday, June 23, 2014

जितपुर फेदीदेखि सुनाकोठीसम्म


मदनकृष्ण श्रेष्ठको बसाइँ अनुभव

काठमाडौँको जितपुर फेदीमा २००७ सालमा जन्मिएका मदनकृष्ण श्रेष्ठलाई अहिले नचिन्ने नेपाली कमै होलान् । उनी सम्पन्न परिवारमा जन्मेका थिए । जग्गाजमीन प्रशस्तै थियो, घर गाउँकै राम्रोमध्येको थियो । सुविधा महसुस हुन्थ्यो रे उनलाई त्यहाँ । सुविधा यो कारण होइन कि सम्पन्नता धेरै थियो, केही अपुग थिएन । उतिखेर दुःख मान्नुपर्ने अवस्था थिएन, बुबा प्रधानपञ्च थिए । सम्पन्नताकै त्यो वेलाको एउटा घटना सम्झँदा उनी हाँस्छन्– खोलामा ट्वाइलेट गरिन्थ्यो । त्यतिखेर ट्वाइलेट आजको जस्तो थिएन न समय थियो न त मान्छे नै । उनको परिवार पहिले काठमाडौँवासी नै थिए पछि जितपुर गएका हुन् । कारण थियो– जितपुर उतिखेर व्यापारिक केन्द्र थियो । आजको असनजस्तै अझ भनौँ त्यो भन्दा नि व्यस्त केन्द्र थियो त्यतिवेला जितपुर । त्रिशूलीको बाटो बनेपछि जितपुरमा व्यापार कम हुन थाल्यो, पछि पृथ्वी राजमार्ग बनेपछि त बजार पूरै सुक्यो, त्यहाँका सबै काठमाडौँतिर सरे, कोही अन्त कतै ।
बसाइँ जितपुर, स्कुल काठमाडौँको ठमेलमा । स्कुल निकै टाढा भयो मदनकृष्णलाई । पहिलेपहिले त दिनमा चार–पाँच घन्टा हिँडेर स्कुल आउने÷जाने गरे, पछि यतै डेरा लिएर बस्न थाले उनी । नरदेवी झोछें, बांगेमुढा आदि ठाउँमा डेरा गरेर बस्दै जाँदा २०३८ सालमा धोवीधारामा घर बनाए र त्यहीँ सरे उनी । आफ्नो उमेर ३० वर्ष पुग्दानपुग्दै काठमाडौँमा घर बनाउदाको अनुभव कस्तो थियो त ? धोवीधारामा पहिले नै जग्गा किनिएको थियो, घर बनाउने कुरा चल्यो, पैसा थिएन । सल्लाह दिनेले गज्जबको सल्लाह दिए– हातमा १० हजार भए इँटा र अन्य सामान किन्ने त्यो पनि छैन ५–६ हजार भए सिमेन्ट किन्ने त्यो पनि भएन, तीन सय भए घरको जग मात्रै खन्ने । पैसा छँदै छैन भने नक्सामात्र बनाइराख्ने । जग खन्न सकियो भने जग हाल्ने साइतको पूजा गरेर राख्ने यस्तो सल्लाहले नयाँ घर बनाउने जोकोहीलाई उत्साह थपिने नै भो, मदनकृष्णलाई पनि आँट आयो । घरको जग खने, साइतको पूजा गरे । घर बनाउने सुरमा थिएनन्, रामकृष्ण ढकाल नाम गरेका एकजना व्यक्तिले घर बनाउन लागेको बारेमा सोध्दा मदनकृष्णले जगमात्र खनेको, बनाउने पैसा नभएको बताए । यो सुनेर रामकृष्ण ढकालले आफ्नो ढुंगाखानी भएको र तुरुन्त ढुंगा ल्याइदिने वाचा गरे तर पैसा त थिएन । रामकृष्णले भने तपाईंको बुबा (जो तीनपटक प्रधानपञ्च भएका थिए) ले तपाईं र ममा केही भेद्भाव गर्नुहुन्न, छोरासरह सोच्नुहुन्छ । किन चाहियो अहिले पैसा, पछि दिनुहोला भन्दै भोलिपल्ट नै ट्रकका ट्रक ढुंगा झारिदिए ।
अरु सामान पनि ल्याएर घर बनाए । त्यो एक तले घर उनका लागि सुविधासम्पन्न थियो, आफ्नो काम विशेषले जानुपर्ने सबै ठाउँ घरबाट नजिक थियो । श्रीमान्÷श्रीमती मिलेर रिनधन गरी बनाएको त्यो घरमा उनी लामो समय बसे र ठूलो प्रगति पनि भयो ।
नेपालमा व्यवस्थित बसोबासको अवधारणा भित्रिएपछि सुविधासम्पन्न हाउजिङ कोलोनीहरुको निर्माण सुरु भयो, देशविदेशमा व्यवस्थित बसोबास देखेका मदनकृष्णले त्यो आधुनिक बसाइँलाई पनि अँगालीहाले । बूढानीलकण्ठमा कम्फर्टको हाउजिङको घर किनेर । पैसा त त्यतिखेर पनि थिएन तैपनि विस्तारै किस्ता तिरे हुने भएकाले लिइहाले । एउटै कोलोनीमा बस्ने भए हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ अर्थात् मह जोडी । हरिवंशलाई घर किन्न मदनकृष्णले नै बोलाए र किनाए पनि । बसाइँ व्यवस्थित थियो, बाहिर बस्नेहरुले हाउजिङमा बस्नेलाई धनीमानी भन्थे तर त्यस्तो थिएन । बाहिर घर किन्ने पैसाले हाउजिङमा पनि घर आउँथ्यो । कम्फर्टमा घर किने पनि मदनकृष्णले धोवीधाराको घर भने छोडेनन् । कहिले यता त कहिले उता बसे । पूरा समय करिब दुई महिनामा मात्र बसे उनी कम्फर्टमा ।
कम्फर्टमा बस्दै गर्दा ललितपुरको सुनाकोठीमा भ्याली होम्स निर्माण हुने भयो । चिनजानका व्यक्तिले निर्माण गर्न लागेकाले मदनकृष्णलाई बोलाएरै एउटा घर किन्न लगाए फेरि पनि हातमा पैसा थिएन । योपटक त छँदै थिएन । जब उनी घर बुकिङ गराएर घर आए र श्रीमतीलाई यो कुरा सुनाए, यो कुरा सुनेर उनकी श्रीमतीले पत्याउनु त कता हो कता फर्केर पनि हेरिनन् । यही कुरा उनी यसरी बताउँछन्, ‘कसैका श्रीमान्ले बेलुका घर आएर मैले जेट प्लेन किनेर आए भन्यो भने श्रीमतीले पत्याउदिनन् र कुनै प्रतिक्रिया दिँदिनन्, मेरी श्रीमतीले त्यसै गरिन् ।’ बिस्तारै पैसा तिरे र उनी अहिले त्यही भ्याली होम्समै बसिरहेका छन्, आफ्नो सानो परिवार आपूm श्रीमती र एक छोरासँग ।
टेलिभिजनको पर्दामा सबैलाई हँसाउने मदनकृष्ण श्रेष्ठ कम्फर्टको हाउजिङमा बस्दै गर्दा उनको परिवारमा सोच्दै नसोचेको आपत आइप¥यो । उनकी श्रीमतीलाई क्यान्सर भएको थाहा भयो । उपचारका लागि लामो समय बैंकक बसेर नेपाल फर्केपछि धोवीधारामा बस्न अप्ठ्यारो भयो । बाटो खनेर खाल्डो बनाइएको थियो, धुलो उड्थ्यो, श्रीमतीलाई धुँवाधुलोबाट टाढा बस्नुपर्ने बाहिरको मान्छेसँग पनि सावधानीका साथ भेट्नुपर्ने भएपछि त्यहाँ बस्न मिलेन ।
सहरमा जतिसुकै आधुनिक र सुविधासम्पन्न घरमा बसे पनि मदनकृष्णलाई जितपुरफेदीको पुरानो घरको याद आइरहन्छ । विशेष गरी भूकम्प जाँदा उनी त्यही घर सम्झन्छन् र मनमनै भन्छन्– भत्क्यो होला त्यो घर तर केही भएको छैन उस्तै छ, ढलेको छैन ।
विगत १३ महिनादेखि भ्याली होम्समा बसोबास गरिरहेका मदनकृष्ण श्रेष्ठ हाउजिङ कोलोनीको निर्माणले सहरलाई व्यवस्थित बनाउनुको साथै मानिसको बसोबासको स्तरोन्नति पनि हुने बताउँछन् । उनी भ्याली होम्सको तारिफमा अब योभन्दा राम्रो घर बन्दैन पनि भन्छन् । मदनको विचारमा राजधानीमा कयौँ हाउजिङ प्रोजेक्टमध्येकै उत्कृष्ट छ भ्याली होम्स । काठमाडौँमा साना बाटोहरुमा हरियाली फाँट हेर्दै हिँड्ने मदनकृष्णले आधुनिक जीवनशैलीका उदाहरण लाग्ने घरमा बसेर सहरका मान्छेहरु बिस्तारै परिवर्तन भइरहेको महसुस गरेका छन् । पहिले बाटो बनाउन आफ्नो जग्गा नदिनेहरु आजकल सडक चौडा गर्न जग्गाधनीहरु आपैmँ खुसीसाथ लागिरहेको देख्दा खुसी लाग्छ उनलाई । तर सडक चौडा गर्दा कसैको सबै जग्गा सडकमा पर्छ भने उसले उचित क्षतिपूर्ति पाउनुपर्छ भन्छन् उनी ।
आमनेपालीको बसोबासको अवस्था दुई कारणले नसुध्रिएको महसुस गर्छन् उनी । पहिलो– व्यवस्थित बसोबास गर्न नसक्नेहरुलाई समयमात्र परिवर्तन भएर केही हुँदैन, उनीहरु विपन्न छन् त्यसैले चाहेर पनि बसोबासको स्तर उकास्न सक्दैनन् । दोस्रो– यहाँ धेरै यस्ता मान्छे पनि छन् जोसँग बसोबासको स्तर उकास्ने र व्यवस्थित भएर बस्ने क्षमता छ तर उनीहरु यस सम्बन्धी ज्ञानको अभावले पछि परिरहेका छन् ।
ठाउँ विशेषले दूरीको आधारमा हेर्ने हो भने सुनाकोठी हुँदै उनको कार्यक्षेत्र नयाँबजारदेखि बूढानीलकण्ठसम्म टाढै छ । तर सम्पतीको मायाले सडकको दूरी निकै कम बनाउँदो रहेछ भन्छन् उनी । सोच्दा मात्र लाग्दो हो– आफ्नो घर जाने बाटो जहाँबाट पनि नजिकै लाग्छ ।
राजधानीको कोलाहल, धुलोधुँवाबाट वाक्क भइसकेका जोकोही भ्याली होम्स गयो भने त्यो ठाउँ नेपाल नै होइन कि भन्ने महसुस गर्न असहज लाग्दैन कसैलाई । यस्तो सुन्दर र शान्त ठाउँमा बसेर मदनकृष्णले असल छिमेकी पाएका छन् । अझ उनीलाई त कोलोनीका सबैले आफ्नै घरको सदस्यसरह व्यवहार गर्ने गरेका छन् रे ! आफ्नो घर जस्तोसुकै भए पनि घरमा पर्दा सबैले व्यक्त गरेको सुविधाकै कारण जीवनसंगिनीको रोग पनि कम भएको बताउने उनको घर आममान्छेले दिएको माया र सद्भावले झनै सुन्दर बनाएको छ । परिवार हास्न सकेको छ, त्यसैले घरको वातावरण पनि हाँसेको छ, मदनकृष्णको गार्डेनमा फुलेको फुलजस्तै ।

No comments:

Post a Comment